७ भदौ,वीरगञ्ज । बहुदरमाई नगरपालिका वडा नम्बर ४ स्थित डोकैला चोकमा बहुदरमाई युवा समाजको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन्। सहभागीमध्ये एक जना महिलाले पनि रक्तदान गरेकी छन्, जसले कार्यक्रममा महिलाको प्रतिनिधित्व र सहभागिता झल्काएको छ।
उक्त कार्यक्रममा प्रदेश सांसद श्याम पटेल प्रमुख अतिथिका रूपमा सहभागी थिए भने विशिष्ट अतिथि प्रहरी उपरीक्षक गौतम मिश्र, बहुदरमाई नगरपालिकाका पूर्व नगरप्रमुख नितेन्द्र साह तथा अन्य स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सांसद पटेलले रगतको अभावले कोही पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रम आवश्यक रहेको बताए। उनले भने, “रक्तदानलाई जीवनदानको रूपमा लिनुपर्छ। यस्ता कार्यक्रमले समाजमा मानवीयता र एकताको सन्देश फैलाउँछ।“
रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेपछि आयोजक संस्था बहुदरमाई युवा समाजले रक्तदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमले स्थानीय युवाहरूको सामाजिक उत्तरदायित्वप्रति चासो र सक्रियता झल्काएको आयोजकहरू बताउँछन्।















