Logo

फाइल तस्वीर

भदौ ८ वीरगञ्ज । वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएपछि सम्पूर्ण शैक्षिक संस्थाहरू दुई दिनका लागि बन्द गरिएका छन्।

वीरगञ्ज महानगरपालिकाले जारी गरेको सूचनाअनुसार आइतबार र सोमबार सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको हो।

४२ जना संक्रमित, दुई जनाको मृत्यु

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्मको तथ्याङ्कअनुसार वीरगञ्जका विभिन्न अस्पतालमा उपचार गराइरहेका १२९ बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ।

ठाकुरले हैजाको लक्षण देखिएका दुई जना बिरामीको मृत्यु भएको पनि जानकारी दिएका छन् । मृतकहरूमा पोखरिया नगरपालिका(९ की एक महिला र वीरगञ्ज महानगरपालिका१२ का एक पुरुष रहेका छन्। यद्यपि, उनीहरूको मृत्यु हैजाकै कारण भएको भनेर पुष्टि भएको छैन।

यी वडामा संक्रमण फैलियो

हैजाको संक्रमण वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ११, १२, १३ र १६ मा फेला परेको छ। सबैभन्दा पहिले भदौ २८ गते वीरगञ्ज महानगरपालिका(१२ स्थित मुर्ली टोलका केही स्थानीयमा झाडापखालाको लक्षण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो। पछि परीक्षण गर्दा हैजा संक्रमण पुष्टि भएको थियो । ठाकुरका अनुसार पर्सा जिल्लामा पछिल्लो १० वर्षयता पहिलो पटक हैजाको प्रकोप देखिएको हो। यो भिब्रियो कोलरी नामक जीवाणुबाट दूषित खाना वा पानीको माध्यमबाट सर्ने गर्दछ । यस रोगका लक्षणहरूमा लगातार झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने र शरीरमा पानीको कमी हुने जस्ता समस्याहरू देखिन्छन्। समयमै उपचार नपाए बिरामीको ज्यान समेत जान सक्ने चिकित्सकहरूले बताएका छन् ।

संक्रमण देखिएका ११ ठाउँको पानीको नमुना परीक्षणका लागि काठमाडौँको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ।


सम्बन्धित समाचार