Logo

८ भदौ, रौतहट । रौतहटको गौर नगरपालिका–९ मा सुटकेशभित्र मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । मृतक २६ वर्षीया रूवीकुमारी साह भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीले जानकारी दिएका छन् ।

उनका अनुसार मृतक साहको स्थायी घर भारतको मुजफ्फरपुर भए पनि उनी चार वर्षयता रौतहटमै बस्दै आएकी थिइन् । माइती घर माधवनारायण नगरपालिका–६ माधवपुर रहेको र मृतक आमा र दाइले शवको सनाखत गरिसकेको प्रहरीले जनाएको छ ।

रूवीकुमारी पछिल्ला वर्षहरूमा गौर नगरपालिका–२ महादेवपट्टीमा बस्दै आफ्ना छोरा पढाउँदै आएकी थिइन् । उनका श्रीमान भारतमै बस्ने र हालै प्रहरी सम्पर्कमा आइसकेको पनि डिएसपी कार्कीले बताए ।

शनिबार राति साढे ९ बजे गौर–सिरसिया सडकखण्डअन्तर्गत मुडवलबा गेट नजिक शंकास्पद सुटकेश फेला परेको थियो। डोरीले बाँधिएको सुटकेश तत्काल खोल्न नसकी प्रहरीको टोली रातभर घटनास्थलमै खटिएको थियो ।

बिहान मात्र डिएसपी कार्कीको नेतृत्वमा सुटकेश खोल्दा साहको शव भेटिएको थियो । शवको घाँटीमा डोरी र सल बाँधिएको तथा नाकमा रगतका धब्बा देखिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार उनको हत्या शुक्रबार दिउँसो भएको हुनसक्ने देखिएको छ ।

शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि :

रौतहटको गौरमा सुटकेसभित्र महिलाको शव फेला


सम्बन्धित समाचार