Logo

८ भदौ, काठमाडौं । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपाल भ्रमणमा आउनुभएको छ।

भ्रमणको दोस्रो दिन आज उहाँले आफ्ना समकक्षी उपराष्ट्रपति रामसहायप्रसाद यादव सँग भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपति यादवको निमन्त्रणामा नेपाल आउनुभएकी सुआनको यो भ्रमणलाई भियतनामका तर्फबाट भएको पहिलो उच्चस्तरीय भ्रमणका रूपमा हेरिएको छ। आज बिहान भएको भेटवार्तामा दुई देशबीचको आपसी हित र सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ। उपराष्ट्रपति सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुनेछ।

नेपाल भ्रमणको पहिलो दिन शनिबार उहाँले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गर्नुभएको थियो। सो अवसरमा मन्त्री राणाले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट सीधा उडान सञ्चालन गर्न प्रस्ताव राख्नुभएको थियो। सीधा उडानले भियतनामबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढाउन सकिने नेपालको विश्वास छ।

उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुका साथै पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ स्तूप लगायतका स्थानहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ। उच्चस्तरीय भेटवार्ताको यो शृङ्खलाले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार