८ भदौ, काठमाडौं । सरकारले उखुको अनुदान रकम आधा कटौती गरेको भन्दै त्यसको विरोधमा देशभरका उखु किसानहरूले काठमाडौंमा प्रदर्शन सुरु गरेका छन् । उनीहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलन नछाड्ने चेतावनी दिएका छन् ।
सरकारले बजेट अभाव देखाउँदै प्रतिक्विन्टल ७० रुपैयाँ रहेको अनुदानलाई घटाएर ३५ रुपैयाँमा झारेको छ। यसैको विरोधमा कोशीदेखि सुदूरपश्चिमसम्मका करिब ५०० देखि ६०० किसानहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरू अहिले गौशालाबाट नारा–जुलुस गर्दै माइतीघर मण्डलातर्फ बढिरहेका छन् ।
किसानको मुख्य माग र सरकारको अडान
उखु उत्पादक महासंघका संयोजक श्यामबाबु रायका अनुसार सरकारले किसानलाई १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ। सरकारले प्रतिक्विन्टल ७० रुपैयाँकै दरले अनुदान भुक्तानी गर्नुपर्ने उनीहरूको प्रमुख माग हो । किसानहरूले चिनी उद्योगबाट भुक्तानी पाइसकेको भए पनि सरकारले दिने कबुल गरेको अनुदान नपाउँदा समस्यामा परेको बताएका छन् । संयोजक रायले सरकारले मनोमानी ढंगले अनुदान रकम घटाउन नमिल्ने र यसले किसानलाई मर्कामा पारेको बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ७० रुपैयाँकै अनुदानको प्रस्ताव मन्त्रिपरिषद्मा पठाए पनि बजेट अभावको कारण देखाउँदै मन्त्रिपरिषद्ले ३५ रुपैयाँ दिने निर्णय गरेको थियो ।
आन्दोलनको कार्यक्रम
महासंघले तत्कालका लागि चार दिने आन्दोलनको घोषणा गरेको छ। यदि यो अवधिमा माग पूरा नभए अर्को चरणको कार्यक्रम घोषणा गर्ने उनीहरूले बताएका छन् । ‘जबसम्म माग पूरा हुँदैन, हामी आन्दोलन छोड्दैनौँ,’ संयोजक रायले भने। किसानहरूले माग पूरा नभएसम्म काठमाडौं नछोड्ने अडान राखेका छन् ।















