प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

८ भदौ,सेढवा ।मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले भौतिक संरचनाको विकाससँगै परम्परा, धर्म र संस्कृतिको संरक्षण गर्नु सबैको नैतिक दायित्व भएको बताएका छन्।

जगरनाथपुर गाउँपालिकाले आयोजना गरेको तीज विशेष कार्यक्रममा शुभकामना व्यक्त गर्दै मन्त्री क्षेत्रीले आधुनिकताका कारण समाजमा बढ्दो विकृति र विसंगतिले परम्पराहरू ओझेलमा पर्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले यस्ता परम्पराको संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिए।

मन्त्री क्षेत्रीले विगतमा घर–घरमा हुने पूजापाठ हराउँदै गएको र अहिले युवा तथा विभिन्न उमेरका मानिसहरू मद्यपान र लागुऔषध दुर्व्यसनतर्फ आकर्षित भइरहेको बताए। उनले यस्ता विकृतिहरूलाई कम गर्न महिलाले महत्वपूर्ण भूमिका खेल्न सक्ने पनि उल्लेख गरे।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्री, नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, कोषाध्यक्ष प्रेम बहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

नेरा मा.वि. सन्ठीमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले पनि आफ्नो भनाइ राखेका थिए। कार्यक्रममा महिला जनप्रतिनिधि, शिक्षिका, महिला स्वास्थ्यकर्मी तथा स्थानीय महिलाहरूले तीजका गीतमा नृत्य प्रस्तुत गरी रमाइलो माहोल सिर्जना गरेका थिए।


सम्बन्धित समाचार