९ भदौ, काठमाडौं । अब किसानहरूलाई बैंकबाट ऋण लिन झन् सजिलो हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले एउटा नयाँ नियम बनाएको छ, जसअनुसार किसान वा साना व्यापारीले १० लाख रुपैयाँसम्मको ऋण लिन चाहेमा उनीहरूले धितो राखेको जग्गा वा सम्पत्तिको मूल्यांकन बैंक आफैँले गर्न पाउँछ । यसअघि धितो जाँच्न बाहिरका मान्छे खोज्नुपर्ने हुन्थ्यो, जसले गर्दा ढिलाइ हुने गर्थ्यो ।
यो नयाँ नियमले खाद्यान्न, पशुपन्छी, माछापालन र तरकारी खेती गर्ने किसानलाई सबैभन्दा धेरै फाइदा पुग्नेछ। बैंकले धितोको मूल्यांकन गर्दा किसानसँग पैसा पनि लिन पाउने छैन ।
राष्ट्र बैंकले अर्को एउटा राम्रो व्यवस्था पनि गरेको छ। अब किसानले तरकारी खेतीका लागि ऋण लिएमा तरकारी तयार भएर बजारमा बेच्न लाग्ने समय (जस्तै ४ महिना) हेरेर मात्रै किस्ता बुझाउने समय तोकिनेछ। यसले गर्दा किसानले बाली बेचेर आएको पैसाले सजिलै ऋण तिर्न सक्नेछन्।















