Logo

९ भदौ,काठमाडौं । भियतनाममा शक्तिशाली आँधी ‘काजिकी’ प्रवेश गरेपछि जनजीवन प्रभावित बनेको छ। भियतनामको राष्ट्रिय मौसम विभागका अनुसार आँधीको गति प्रतिघण्टा ११८ देखि १३३ किलोमिटर रेकर्ड गरिएको छ। आँधीसँगै भारी वर्षा, बाढी र पहिरोको जोखिम अझै बढ्दै गएको जनाइएको छ।

सरकारले सतर्कता स्वरूप ५ लाख ८६ हजारभन्दा बढी नागरिकहरूलाई सुरक्षित स्थानमा सार्न आदेश दिएको छ। आपतकालीन तयारीस्वरूप हजारौं सैनिक उद्धार र राहत कार्यमा खटिन तयार छन्।

यातायात, विद्यालय सबै प्रभावित

आँधीका कारण धेरै क्षेत्रहरूमा रेलसेवा र उडानहरू स्थगित गरिएका छन्। साथै, विद्यालयहरू पनि बन्द गरिएका छन्। देशका पूर्वी क्षेत्रमा आँधीको प्रत्यक्ष प्रभाव देखिन थालेको अधिकारीहरूले जनाएका छन्।

मौसमविद्हरूका अनुसार ‘काजिकी’ आँधी गत वर्षको ‘यागी’ आँधी जत्तिकै खतरनाक हुन सक्ने अनुमान गरिएको छ। ‘यागी’ आँधीले ३०० जनाको ज्यान लिएको र अर्बौं डलर बराबरको क्षति गरेको थियो।

चीन हुँदै भियतनाममा प्रवेश

‘काजिकी’ आँधीले यसअघि चीनको हेनान टापु क्षेत्र पार गरेको थियो। त्यहाँ पनि दक्षिणी भागमा भारी वर्षा र तेज हावा चलेको रेकर्ड छ। अहिले आँधीले भियतनामको पूर्वी तटीय क्षेत्रहरूलाई सिधै प्रभावित बनाएको छ।
भियतनामी प्रशासनले नागरिकहरूलाई सतर्कता अपनाउन, घरमै बस्न र सरकारी सूचनाको पालना गर्न आह्वान गरेको छ। साथै, आँधीको निगरानी निरन्तर जारी रहेको र आवश्यक पर्दा थप उद्धार तथा राहत टोली खटाइने बताइएको छ।


सम्बन्धित समाचार