Logo

१० भदौ, वीरगञ्ज। पोखराको लिचीबारी काण्डमा ७८ लाख रुपैयाँको घुस डिलु गरेको अडियो प्रकरणमा निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि मुद्दा चलाउने प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुटाएको छ। विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको अडियोमा भएको स्वर उनकै भएको पुष्टि भएपछि अख्तियारले उनीमाथि अनुसन्धान तीव्र पारेको हो।

अख्तियार स्रोतका अनुसार, सार्वजनिक भएको अडियो पूर्वमन्त्री गुप्ताकै हो वा होइन भनेर आयोगले भ्वाइस टेस्ट गराएको थियो। ल्याबबाट आएको रिपोर्टले सो आवाज उनकै भएको पुष्टि गरेको छ। यसै आधारमा आयोगले उनलाई बयानका लागि बोलाएको छ। घुस लेनदेनको प्रमाण नभेटिए पनि घुस लिने–दिने मनसाय स्पष्ट देखिएकाले भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा चलाउन पर्याप्त प्रमाण पुगेको स्रोतको भनाइ छ।

बहालवाला मन्त्री अधिकारीमाथि पनि छानबिन

यो प्रकरणको केन्द्रमा बहालवाला भूमि व्यवस्थामन्त्री बलराम अधिकारीसमेत छन्। सार्वजनिक भएको अडियोमा गुप्ताले अधिकारीले पैसा खाएर पनि काम नगरिदिएको गुनासो गरेका छन्। अधिकारीकै मन्त्रालयअन्तर्गत कास्की मालपोतका कर्मचारी सरुवा, लिचीबारी जग्गाको स्वामित्व विवाद निरूपण र भूमि आयोगको अध्यक्ष नियुक्तिसम्बन्धी विषयमा घुस डिल भएको थियो।

बिचौलिया सुजन लामाले मन्त्री अधिकारीका छोरा र तत्कालीन भूमि व्यवस्थासचिव अर्जुन पोखरेललाई पनि सहयोग गरेको अडियो बाहिर आएको छ, जसको पनि अख्तियारले छानबिन गरिरहेको छ।

गुप्ताको राजीनामा र अख्तियारको अनुसन्धान

गुप्ताले कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तिका लागि २५ लाख र कास्की मालपोतका प्रमुख थमौती वा सरुवाका लागि ५३ लाख गरी कुल ७८ लाख रुपैयाँको डिल गरेका थिए। यही डिल सार्वजनिक भएर चौतर्फी आलोचना भएपछि उनले गत असार ३१ मा पदबाट राजीनामा दिएका थिए।

गुप्ताको अडियोसहितको उजुरी गत असार १० गते नै दर्ता भएपछि अख्तियारले अनुसन्धान अधिकृत नै तोकेर छानबिन गरिरहेको छ। आयोगले कास्की मालपोतलाई पत्र काटेर लिचीबारीको जग्गासम्बन्धी कागजात र अन्य विवरणसमेत मगाएको छ।

हालसम्म पदमै रहेका भूमि व्यवस्थामन्त्री अधिकारीमाथिको मुद्दा भने बिचौलिया लामाको बयानमा भर पर्ने स्रोतले जनाएको छ। यस प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग पनि आयोगले सोधपुछ गरिरहेको छ।


सम्बन्धित समाचार