१० भदौ, हनोई। टाइफुन काजिकीको कारण भियतनाममा भारी क्षति पुगेको छ। सोमबार मध्य भियतनाममा आएको शक्तिशाली आँधीले मङ्गलबारसम्म तीन जनाको ज्यान लिएको पुष्टि भएको छ भने १३ जना घाइते भएका छन्। तीव्र गतिको हावाहुरीले हजारौँ घरका छाना उडाएका छन् भने १६ लाखभन्दा बढी मानिस विद्युत् आपूर्तिबाट वञ्चित भएका छन्।
राजधानी हनोईसहित देशका धेरै भागमा भारी वर्षा, बाढी र आँधीका कारण जनजीवन अस्तव्यस्त बनेको छ। सडकमा उखेलिएका रूख र ढलेका बिजुलीका पोलहरूले उद्धार कार्यलाई कठिन बनाइरहेका छन्। भिन्ह सहरमा एक उद्धारकर्मीको रूख र तारको अराजकतामा परेर मृत्यु भएको जनाइएको छ।
सैनिक र उद्धारकर्मीहरूले दर्जनौँ अवरोध हटाउने कार्य गरिरहेका छन्। स्थानीय ६५ वर्षीय ट्रान भ्यान हङका अनुसार, “एउटा भवनको आठौँ तलाबाट ठूलो स्टिलको छत सडकमा खस्यो, भाग्यले कसैलाई चोट लागेन।”
बाढीका कारण भित्री पहाडी क्षेत्रका २७ गाउँ अन्य स्थानहरूसँग सम्पर्कविहीन भएका छन् भने ४४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। राजधानी हनोईमा भारी वर्षाले सडक डुबाएका छन्, जसले यातायात पूर्ण रूपमा ठप्प पारेको छ।
हनोई निवासी ४४ वर्षीया न्गुयेन थु लानले भनिन्, “आज बिहान पैदल हिँड्नै सकिएन, घरअगाडिको आँगनसमेत डुबेको थियो।” अर्का बासिन्दा ट्रान लु फुकले कालो पानी र ट्राफिक जामको भयावहता सुनाउँदै भने, “एक घण्टाभन्दा बढी सडकमा फसेँ।”
काजिकी कमजोर बनेर पश्चिमतर्फ लाओस प्रवेश गरे पनि त्यहाँ पनि भारी वर्षा भएको छ। लाओस–चीन रेलमार्ग सोमबार र मङ्गलबार पूर्ण रूपमा बन्द गरिएको छ भने केही सडक अवरुद्ध भएका छन्।
जलवायु परिवर्तनका कारण भियतनाममा बर्सेनि आउने टाइफुनहरू अझ तीव्र र अनियन्त्रित बन्दै गइरहेको विज्ञहरू बताउँछन्। कृषि मन्त्रालयका अनुसार यस वर्षको सात महिनामै एक सयभन्दा बढी मानिस प्राकृतिक प्रकोपमा परी मृत वा हराएका छन्।
गत वर्ष सेप्टेम्बरमा आएको टाइफुन यागीले भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मामा सात सयभन्दा बढी मानिसको ज्यान लिएको थियो।

















