१० भदौ,सेढवा ।पर्साको बीरगंजलगायत विभिन्न स्थानमा झाडापखाला र हैजाको प्रकोप फैलिन थालेपछि जिराभवानी गाउँपालिका सतर्क बनेको छ। संक्रमण रोकथाम तथा उपचारका लागि पालिकाले पूर्वतयारीलाई तीव्रता दिएको छ।गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले वडा नं. ४ अन्तर्गत पर्ने सुपौली स्वास्थ्य चौकीमा झाडापखाला तथा हैजा उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको हो।
स्वास्थ्य शाखा प्रमुख अजय चौधरीका अनुसार, केन्द्र सञ्चालनका लागि औषधि, स्वास्थ्यकर्मी र अन्य आवश्यक स्रोतहरू तत्काल व्यवस्थापन गरिँदैछ।“संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण तयारी सुरु गरिएको छ,” उनले जानकारी दिए।“गाउँपालिकाभर कार्यरत स्वास्थ्यकर्मीलाई अत्यावश्यकबाहेक कुनै पनि बिदा नदिने निर्णय गरिएको छ।”
सक्रिय तयारी र सतर्कता
संक्रमण नियन्त्रणका लागि गाउँपालिकाले स्वास्थ्य स्वयंसेविका परिचालन, नागरिकमा जनचेतनामूलक सन्देशको प्रचारप्रसार, र स्वच्छता तथा सुरक्षित खानेपानीको महत्वबारे सचेतना कार्यक्रम पनि सञ्चालन गर्न थालेको छ।
सुपौलीमा आयोजित बैठकमा गाउँपालिका अध्यक्ष अनोज चौधरी, प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, वडाध्यक्षहरू रामशरण ख्वास र महादेव महतो थारु, स्वास्थ्यकर्मीहरू, जनपद प्रहरी, सशस्त्र प्रहरी र सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो।
बैठकमा सहभागी सबै पक्षले पालिकामा संक्रमण फैलन नदिन व्यापक समन्वय र सचेतना कार्यक्रमलाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
















