११ भदौ, काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकामा गए राति भएको एक मोटरसाइकल दुर्घटनामा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई जनाको मृत्यु भएको छ।
राति करिब साढे ९ बजे भीमेश्वर नगरपालिका-६ स्थित रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किएका दुई युवकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका गौरीशङ्कर क्याम्पसका स्ववियु सभापति २४ वर्षीय शिरिस बस्नेत र उनको मोटरसाइकलमा सवार २६ वर्षीय श्याम बहादुर खत्रीको च्छोरोल्पा अस्पताल, चरिकोटमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस्नेतले चलाएको बा. ५३ प ८८९९ नम्बरको मोटरसाइकल र निर्मल खड्काले चलाएको बा. प्र. ०२-०३४ प ३२४२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा यो दुर्घटना भएको थियो। दुर्घटनामा सामान्य घाइते भएका २५ वर्षीय खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ।
अनेरास्ववियुका नेता बस्नेत गत चैतमा अनेरास्ववियु क्रान्तिकारीसँगको गठबन्धनबाट स्ववियु सभापतिमा निर्वाचित भएका थिए। उनी भीमेश्वर नगरपालिका-५ का स्थानीय बासिन्दा हुन् भने खत्री बैतेश्वर गाउँपालिका-३ का बासिन्दा हुन्।

















