Logo

१२ भदौ,वीरगञ्ज । तस्करीमार्फत भित्र्याइएको ५९४ बोरा चिनी गायब पारेको आरोपमा सशस्त्र प्रहरी बलका तीनजना उच्च अधिकारीलाई छानबिनका लागि हेडक्वार्टर तानिएको छ।

सशस्त्र प्रहरी बल ११ नम्बर गण, रौतहटका गणपति तथा एसपी सन्तोष बस्नेत र डीएसपी राजेन्द्रबहादुर बस्नेतलाई आन्तरिक छानबिनका लागि काठमाडौं हलचोकस्थित हेडक्वार्टर बोलाइएको हो। यसअघि नै घटनासँग सम्बन्धित डीएसपी अमर लामालाई पनि हेडक्वार्टर तानिएको थियो।

भिडिओमा देखिएको ७०० बोरा, तर मात्र १०६ बोरा बरामद

घटनाको पृष्ठभूमिमा, रौतहटमा तस्करीको चिनी भण्डारण गरिएको सूचनाका आधारमा डीएसपी लामाको नेतृत्वमा टोलीले छापा मारेको थियो। प्राप्त भिडिओ र सूचनामा ७०० बोरा भन्दा बढी चिनी देखिएको भए पनि, केवल १०६ बोरा मात्र बरामद गरी भन्सारमा बुझाइएको थियो। बाँकी करिब ५९४ बोरा चिनी गायब भएपछि घटनाले चासो र विवाद सिर्जना गरेको हो।

२० जनामाथि आन्तरिक छानबिन

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, यस घटनामा संलग्न भएको आशंकामा तीन जना उच्च अधिकारीसहित करिब २० जनामाथि आन्तरिक छानबिन भइरहेको छ। उनले भने, “दोषी प्रमाणित भएमा उनीहरूको भूमिकाअनुसार आवश्यक कारबाही गरिनेछ।“

उनका अनुसार, प्रारम्भिक चरणमा केही अधिकारीलाई सचेत गराइएको भए पनि थप प्रमाण भेटिएपछि हेडक्वार्टर तानेर औपचारिक छानबिन प्रक्रिया सुरु गरिएको हो।

सुरक्षा निकायमै यस्ता घटनाको संलग्नता देखिनु संस्थाको विश्वसनीयता र नैतिकताको प्रश्न बन्ने सुरक्षा विश्लेषकहरू बताउँछन्। तस्करी नियन्त्रणको जिम्मेवारी लिएका अधिकारीहरूमाथि नै तस्करीको माल लुकाएको आरोप लाग्नुले सुरक्षाको दायित्व र उत्तरदायित्वबारे गम्भीर बहस चर्किएको छ।


सम्बन्धित समाचार