१३ भदौ, ठोरी (पर्सा) । नेपाल विद्युत प्राधिकरण पोखरीया वितरण केन्द्रको वेवास्ताका कारण पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५, ठुलो बाघमोर्चाका करिब एक सय पचास (१५०) घरधुरी लामो समयदेखि विद्युत् अभावको मारमा परेका छन् ।
स्थानीयवासीका अनुसार करिब दुई महिनादेखि ट्रान्सफर्मरको एक फेज जलेपछि लाइन आउने–जाने समस्या भइरहेको छ। तर प्राधिकरणले समयमै पहल नगर्दा समस्या झन् गम्भीर बनेको छ । शुक्रबार साँझ उक्त ट्रान्सफर्मर पूर्णरूपमा बिग्रिएपछि सम्पूर्ण गाउँ नै अन्धकारमा डुबेको छ ।
५० केभिए क्षमताको सो ट्रान्सफर्मर बिग्रँदा स्थानीयबासीले बत्ती नपाउने मात्र होइन, कृषि मोटर र डिप बोरिङ पनि सञ्चालन गर्न नसकेको वडाध्यक्ष अष्टबहादुर लोप्चनले जानकारी दिए । उनका अनुसार १५० घरमा विद्युत आपूर्ति हुने र करिब ४० भन्दा बढी कृषि मोटर तथा २ वटा ठूला डिप बोरिङ सोही ट्रान्सफर्मरमा जोडिएका थिए ।
“गर्मीमा लाइन नहुँदा राति सुत्न गाह्रो छ, खेतमा सिँचाइ रोकिँदा धानमा धाँजा फाटिसकेको छ। यसरी निरन्तर ढिलाइ हुँदा उत्पादन नै घट्ने खतरा बढेको छ,” वडाध्यक्ष लोप्चनले गुनासो गरे ।
समस्या समाधानका लागि प्रतिनिधि सभा सदस्य रमेश रिजाल, प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरी, गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठलगायत जनप्रतिनिधिले समेत पटक–पटक पहल गरे पनि प्राधिकरणले सुनुवाइ नगरेको स्थानीयको आरोप छ ।
“हामी नै पोखरीया गएर हाकिमलाई भेट्यौं, हुन्छ भन्ने तर काम भएन,” लोप्चनले भने ।
यस विषयमा बुझ्दा पोखरीया वितरण केन्द्रका प्रमुख बुद्धिनाथ झाले आफूलाई समस्या बारे अहिलेसम्म जानकारी नआएको दाबी गरे । “आज मात्रै जानकारी पाएँ, भोलि नै नयाँ ट्रान्सफर्मर जडान गरेर समस्या समाधान गर्छौं,” उनले आश्वासन दिए ।
लगातार दुई महिनादेखि अन्धकार र सिँचाइ अभावको मार खेपिरहेका ठुलो बाघमोर्चाका बासिन्दाले अब भने तत्काल समस्या समाधान हुने विश्वास लिएका छन् । तर बारम्बारको ढिलाइका कारण उनीहरू प्राधिकरणप्रति असन्तुष्ट छन् ।















