१५ भदौ,काठमाडौं । यमनका प्रधानमन्त्री अहमद गालिब अल–रहावी इजरायली आक्रमणमा मारिएको यमनका हुथी विद्रोहीहरूले दाबी गरेका छन्। बिहीबार राजधानी सानामा भएको आक्रमणमा उनी आफ्ना केही सहयोगीहरूसहित मारिएको हुथी पक्षको भनाइ छ। तर, उनी मारिएको पुष्टि स्वतन्त्र स्रोतबाट पुष्टि हुन बाँकी छ।
हुथी विद्रोहीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “हामी योद्धा अहमद गालिब नासिर अल–रहावीको निधन भएको घोषणा गर्दछौं। उनलाई इजरायलले लक्षित गरेको थियो।” उनीहरूका अनुसार यो गाजा युद्ध सुरु भएयता हुथीहरूलाई लागेको सबैभन्दा ठूलो धक्का हो, किनभने यो अवधिमा वरिष्ठ स्तरको नेताको मृत्यु भएको पहिलो घटना हो।
फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार, अल–रहावीलाई अन्तिमपटक बुधबार सानामा आयोजित सार्वजनिक कार्यक्रममा देखिएको थियो। आक्रमणमा उनका अन्य केही सहयोगीहरू घाइते भएका छन् र अस्पतालमा उपचाररत छन्।
यसअघि इजरायलले सानामा इरान समर्थित हुथी समूहका प्रमुख नेताहरूलाई लक्षित गर्ने रणनीति अपनाएको दाबी गरेको थियो। यद्यपि, हुथी समूहका रक्षा मन्त्री मारिएका हुन् वा होइनन् भन्ने विषयमा प्रष्टता आएको छैन। समूहका वरिष्ठ नेता महदी मशातको वक्तव्यमा रक्षा मन्त्रीको नाम खुलाइएको थिएन।
अहमद अल–रहावी झन्डै एक वर्षअघि यमनको प्रधानमन्त्री बनेका थिए। तर, वास्तविक सत्ता उप–प्रधानमन्त्री मोहम्मद मुफ्ताहको हातमा रहेको बताइन्छ। हालै मुफ्ताहलाई औपचारिक रूपमा प्रधानमन्त्रीको कार्यभार दिइएको छ।
युद्धग्रस्त यमनमा पछिल्लो समय इजरायल र हुथी विद्रोहीबीचको तनाव झन् चर्किंदै गएको छ। यो घटनाले क्षेत्रीय द्वन्द्वलाई थप उकास्न सक्ने विश्लेषण गरिँदैछ।

















