Logo

१५ भदौ,वीरगञ्ज । परीक्षा तयारी नपुगेपछि राजधानीका शैक्षिक संस्थामा बम राखिएको भन्दै झूटो सूचना फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले महोत्तरीका जयरुद्र झालाई पक्राउ गरेको जानकारी दिएको हो।

भदौ १३ गते झाले प्रहरीको १०० नम्बरमा फोन गरी, काठमाडौँका विभिन्न शैक्षिक संस्थाहरूमा बम राखिएको र दिउँसो ४ बजेसम्म विस्फोट हुने झूटो सूचना दिएका थिए।
उनको यस फोनकलले उपत्यकाभर त्रासको वातावरण सिर्जना भएको थियो।

प्रहरी अनुसन्धान अनुसार, झा कुलेश्वरस्थित जनमैत्री माविमा सञ्चालित स्नातकोत्तर तहको परीक्षामा सहभागी विद्यार्थी हुन्।
परीक्षाको तयारी नपुगेका कारण परीक्षा स्थगित गराउने उद्देश्यले उनले यस्तो गलत सूचना फैलाएको खुल्न आएको हो।

झा हाल एक सेरामिक्स टायल्स कम्पनीमा बैंक प्रतिनिधिको रूपमा कार्यरत रहेको बताइएको छ।

प्रहरीका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार, झालाई नियन्त्रणमा लिइएको छ र उनविरुद्ध थप अनुसन्धान भइरहेको छ।
प्रहरीले यस्ता झूटो सूचना दिनेलाई कानूनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।


सम्बन्धित समाचार