१६ भदौ, वीरगञ्ज। नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) जारी गर्ने तयारी गर्दै वीरगञ्जका लगानीकर्ताहरूसँग छलफल गरेको छ।
कम्पनीले आफ्नो चुक्ता पुँजी ५० करोड रुपैयाँ पुर्याउने र त्यसको ३० प्रतिशत शेयर सर्वसाधारणमा वितरण गर्ने योजना बनाएको छ। कम्पनी विगत तीन वर्षदेखि खुद नाफामा सञ्चालनमा रहेको छ।
गत वर्ष लाभांश वितरण गरेको नेक्सजेनले यस वर्षको लाभांश जगेडा कोषमा सारेर लगानी वृद्धि र आइपीओमा जाने कार्यक्रम निर्धारण गरेपछि वीरगञ्जका लगानीकर्तामा ठूलो आकर्षण देखिएको हो। छलफलमा विभिन्न क्षेत्रका २० जना व्यवसायीको उपस्थिति रहेको थियो।
छलफलका क्रममा नेक्सजेन इक्विटी कम्पनीका प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराई र सञ्चालक समितिका सदस्य गणेश लाठले लगानीकर्ताका जिज्ञासाको जवाफ दिएका थिए। कम्पनीमा पूर्व बैंकर, बीमा विज्ञ, उद्योगी तथा व्यवसायीको लगानी रहेको छ।
नेक्सजेनले यही असोज ३ गते काठमाडौंमा साधारणसभा बोलाएको छ। प्रबन्ध सञ्चालक भट्टराईका अनुसार, साधारणसभामा मुख्यगरी आर्थिक वर्ष २०८१र०८२ को लेखा परीक्षण प्रतिवेदन पारित गर्ने, सहायक कम्पनी एग्रो डेभलपमेन्ट फन्ड लिमिटेडमा गरिएको लगानी अनुमोदन गर्ने र सर्वसाधारणका लागि ३० प्रतिशत शेयर जारी गर्ने तथा सोसम्बन्धी अख्तियारी प्रदान गर्ने विषयहरू रहेका छन्।

















