२१ भदौ,काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहान भारतविरुद्ध सामाजिक सञ्जालमा दिएको विवादास्पद टिप्पणीबाट करिब १२ घण्टामै पछि हटेका छन्। साँझ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भारतसँगको सम्बन्धलाई सुदृढ बनाउने इच्छा व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति समर्थन जनाएका हुन्।
ट्रम्पले पत्रकार सम्मेलनमा भने, “म सधैँ मोदीको साथी हुनेछु। भारतसँगको सम्बन्धलाई सुधार्न म सधैँ तयार छु।”
यसअघि शुक्रबार बिहान ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ’मा लेखेका थिए, “हामीले भारत र रुसलाई चीनको हातमा गुमाएजस्तो देखिन्छ। आशा छ, उनीहरूको भविष्य राम्रो हुनेछ।” यो अभिव्यक्तिलाई भारतविरोधी रूपमा हेरिएको थियो।
ट्रम्पले सम्मेलनमा भारतले रुसी तेल खरिद गरेकामा असन्तुष्टि जनाउँदै भने, “हामीले भारतमाथि यसका लागि ५० प्रतिशतको भारी ट्यारिफ लगाएका छौँ।” तर उनले भारतसँग चलिरहेको व्यापार वार्तालाई सकारात्मक रहेको पनि बताएका छन्।
यसबारे प्रतिक्रिया दिँदै भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले भने, “प्रधानमन्त्री मोदी अमेरिकासँगको साझेदारीलाई अत्यन्त महत्त्व दिनुहुन्छ र ट्रम्पसँग सधैँ राम्रो व्यक्तिगत सम्बन्ध रहेको छ।”
शनिबार बिहान प्रधानमन्त्री मोदीले ट्रम्पको पछिल्लो भनाइलाई सेयर गर्दै सामाजिक सञ्जाल ‘एक्स’मा लेखे, “म राष्ट्रपति ट्रम्पको भावना र हाम्रो सम्बन्धबारे उहाँको विचारको मनैदेखि प्रशंसा गर्छु र उनलाई पूर्ण समर्थन गर्छु।”
मोदीले भारत–अमेरिकाबीचको रणनीतिक साझेदारी सकारात्मक र दीर्घकालीन भएको पनि उल्लेख गरेका छन्।
ट्रम्पको प्रारम्भिक टिप्पणीले दुई देशबीचको सम्बन्धमा चिसोपन आउला भन्ने आशंका गरिएको थियो, तर पछिल्लो सम्वादले सम्बन्ध पुनः सौहार्दतापूर्वक अघि बढ्ने संकेत देखिएको छ।
हिन्दुस्तान टाइम्सबाट ।

















