Logo

२२ भदौ,काठमाडौं । युक्रेनी प्रधानमन्त्री युलिया स्भिरिडेन्कोले आइतबार बिहान राजधानी किभस्थित क्याबिनेट भवनमा आक्रमण भएको पुष्टि गरेकी छिन्। यो पहिलो पटक सरकारी निर्णय केन्द्रलाई सोझै लक्षित गर्दै आक्रमण भएको हो।

युक्रेनी वायुसेनाका अनुसार, शनिबार रातिदेखि आइतबार बिहानसम्म रुसले ८०५ वटा ड्रोन र १३ वटा मिसाइल प्रहार गरेको छ। तीमध्ये ७५१ वटा ड्रोन आकाशमै खसालिएको वायुसेनाले जनाएको छ। यद्यपि, बाँकी ५६ वटा ड्रोन र ९ वटा मिसाइल युक्रेनका विभिन्न ३७ स्थानमा खसेका थिए। साथै ती आक्रमणका भग्नावशेष आठ स्थानमा फेला परेका छन्।

बीबीसीकी पूर्वी युरोप संवाददाता सारा रेन्सफोर्डले किभबाट दिएको प्रत्यक्ष विवरण अनुसार, आइतबार बिहान इन्डिपेन्डेन्स स्क्वायर पछाडिबाट बाक्लो धुवाँको मुस्लो देखिएको थियो। त्यसको केही समयपछि उनले दुईवटा रूसी क्रूज मिसाइल तीव्र गतिमा आकाशमा उडिरहेको देखेकी थिइन्, जुनपछि शक्तिशाली विस्फोटको आवाज सुनिएको थियो।

सहरको केन्द्रमा यसरी सीधा आक्रमण हुनु दुर्लभ मानिन्छ, विशेषतः किभमा युक्रेनको वायु रक्षा प्रणाली अत्यन्तै बलियो मानिन्छ। यस आक्रमणपछि राजधानीमा सुरक्षा व्यवस्था अझ कडा बनाइएको छ भने क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ।

सरकारले नागरिकलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक आवागमन नगर्न अनुरोध गरेको छ।


सम्बन्धित समाचार