२४ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीको प्रदर्शनमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।
सोमबार विज्ञप्ति जारी गर्दै थापाले गृहमन्त्रीले मात्र राजीनामा दिएर जिम्मेवारी टार्न नसकिने बताउँदै प्रधानमन्त्री ओली स्वयंले नै जिम्मा लिनुपर्ने धारणा सार्वजनिक गरेका हुन्।
‘कुनै पनि कोणबाट सरकारको यो शैली जायज ठहरिँदैन। सरकारको असंवेदनशीलता कारण अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको यो हृदयविदारक घटनाले स्तब्ध बनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
थापाले जेनजी पुस्ताले उठाएका मुद्दा आम सरोकारका भएको स्पष्ट पार्दै सुशासन र भ्रष्टाचारविरुद्ध द्रुतगतिमा कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, ‘युवाले आन्दोलनमार्फत उठाएका मुद्दा सुशासन, भ्रष्टाचारको छानबिन र दोषीलाई कारबाहीसँग जोडिएका छन्। यसको लागि संविधान संशोधनदेखि भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी कानुनमा आवश्यक संशोधन गरेर छिटो काम थालिनुपर्छ।’
थापाले २०४६ सालपछि सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि अघि सारेका छन्।

















