२२ भदौ, काठमाडौं । सोमबार सरकारको दमनबाट १९ जनाको मृत्यु भएको विरोधमा देशभर आन्दोलन चर्किएको छ।
आन्दोलनकारीले ठाउँठाउँमा तोडफोड र आगजनी गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग पनि तीव्र बनेको छ।
झापामा एमाले कार्यालयमा आगजनी
कोसी प्रदेशका विभिन्न सहरमा आज बिहानैदेखि प्रदर्शन तीव्र भएको छ। झापाको बिर्तामोडस्थित नेकपा एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्। हिजो पनि सोही कार्यालयमा तोडफोड भएको थियो। आज बिहानै भेला भएका प्रदर्शनकारीले पुनः कार्यालयमा तोडफोड गर्दै आगजनी गरेका हुन्।
त्यस्तै, विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा पनि प्रदर्शनकारीको ठूलो भीड जम्मा भएको छ। उनीहरूले पुष्पलाल चोकमा रहेको पुष्पलालको सालिकसमेत तोडफोड गरेका छन्। हिजोको प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको इटहरीमा पनि कर्फ्यु तोड्दै प्रदर्शनकारी सडकमा उत्रिएका छन्। स्थिति नियन्त्रणमा लिन विराटनगरमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ।
सुर्खेतमा राजनीतिक दलका कार्यालय घेराउ
यसैगरी, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आन्दोलनरत युवा पुस्ता ९जेन(जी० ले प्रमुख तीन दलका पार्टी कार्यालय घेराउ गरेका छन्। उनीहरूले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रदेश कार्यालय घेरेर विरोध प्रदर्शन गरेका हुन्।
आइतबारको आन्दोलनमा भएको दमनको विरोधमा वीरेन्द्रनगरका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्। सोमबार बिहान कर्णाली प्रदेशसभा र मुख्यमन्त्रीको सरकारी निवासअघि प्रदर्शन गरेका आन्दोलनकारीले अहिले राजनीतिक दलका पार्टी कार्यालय घेराउ गर्न थालेका हुन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै तीनै दलका शीर्ष नेताहरूको चर्को विरोध गरिरहेका छन्।

















