२५ भदौ, काठमाडौं । नेपाली सेनाले विषम परिस्थितिमा लुटपाट, आगजनी र हिंसा फैलाउने उद्देश्यले विध्वंसात्मक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ ।
सेनाले काठमाडौँलगायत देशका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो । सेनाको विज्ञप्तिअनुसार, पक्राउ परेका व्यक्तिहरूबाट हातहतियार पनि बरामद गरिएको छ। काठमाडौँको गौशाला, चाबहिल र बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद भएको छ। यसका साथै, काठमाडौँको विभिन्न स्थानबाट २३ वटा र पोखराबाट ८ वटा गरी कुल ३१ थान हतियार र त्यसमा प्रयोग हुने म्यागजिन र गोलीगठ्ठा पनि फेला परेका छन्।
सेनाले दिएको जानकारीअनुसार, आगजनी नियन्त्रण गर्न तीनवटा बारुण यन्त्र प्रयोग भइरहेका छन्। साथै, हालसम्म २३ जना घाइते नेपाल प्रहरी र ३ जना गैरसैनिक व्यक्तिहरूको सैनिक अस्पतालमा उपचार भइरहेको छ।

















