२५ भदौ, काठमाडौं । मंगलबार जेनजीको प्रदर्शनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका झन्डै दुई दर्जन हतियार नेपाली सेनालाई बुझाइएको छ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विभिन्न ठाउँबाट २३ थान हतियार सेनाले प्राप्त गरिसकेको छ। सेनाका अनुसार, भक्तपुरको लोकन्थलीमा गस्ती गरिरहेका सेनालाई केही युवाले हतियार बुझाएका थिए। हतियारबाहेक लुटिएको ३३ लाख ७० हजार रुपैयाँ नगद र सञ्चार उपकरणहरू पनि सेनाले फिर्ता पाएको छ।
मंगलबारको झडपमा आक्रोशित समूहले नेपाल प्रहरीलाई कुटपिट गर्नुका साथै हतियार खोसेका थिए। उनीहरूले प्रहरी र अन्य सरकारी कार्यालयहरूमा तोडफोड र आगजनीसमेत गरेका थिए। घटनापछि मंगलबार राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमान्ड सम्हालेको छ। लुटपाट र आक्रमणमा संलग्न केही व्यक्तिहरूलाई सेनाले नियन्त्रणमा पनि लिएको छ।

















