२५ भदौ, काठमाडौं । नेपालमा भइरहेको आन्दोलनका क्रममा भएको आगजनीका घटनामा थप दुईजनाको शव फेला परेको छ।
ललितपुर र पोखरामा भएका यी घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको पुष्टि भएको छ।
प्रचण्डकी छोरीको घरमा शव फेला
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डकी छोरी गंगा दाहालको ललितपुरस्थित घरमा एक पुरुषको जलेको शव फेला परेको छ। मंगलबार प्रदर्शनकारीहरूले सुनाकोठीमा रहेको उनको घरमा आगजनी गरेका थिए। प्रहरीका अनुसार, शवको पहिचान हुन बाँकी छ।
पोखरामा मन्त्रीको भवनमा अर्को शव
यसैबीच, पोखरामा आन्दोलनकारीले जलाएको गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा पनि एक महिलाको शव भेटिएको छ। लेकसाइडस्थित उनको अंशुभरा ग्रुपको भवनमा बिहान जलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। यो घटना थापाका भाइ ध्रुव थापाको नयाँबजारस्थित गाडी सोरुममा एक महिलाको शव फेला परेको केही घण्टापछि भएको हो ।
आन्दोलनकारीले मन्त्री थापाको घर, बगैंचा रिसोर्ट, मेयर धनराज आचार्य र नेता राजीव पहारीको घरसहित पोखराका प्रमुख कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए ।

















