२६ भदौ, काठमाडौं । जेन-जी आन्दोलनपछि देशभर उत्पन्न असहज परिस्थितिका कारण यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात सेवा सञ्चालन अनिश्चितकालका लागि बन्द गरेको छ।
देशको सुरक्षाको जिम्मा सेनाले लिएको र निषेधाज्ञा तथा कर्फ्यू जारी रहेकाले अत्यावश्यक बाहेकका सबै यातायात सेवा ठप्प छन्। महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले तत्काल सेवा सुचारु गर्ने अवस्था नरहेको बताएका छन्। उनले भने, अहिले हामी के गर्ने भन्ने निर्णय गर्ने अवस्थामा छैनौँ। देश नै ठप्प छ। तर, यदि सहज वातावरण बनेमा सेवा दिन आफूहरू तयार रहेको उनले स्पष्ट पारे।
सिटौलाका अनुसार, अहिलेसम्म सरकारको कुनै पनि निकायले यातायात सुचारु गर्ने विषयमा महासङ्घसँग छलफल गरेको छैन। उनले सरकार वा नेपाली सेनाले यातायात सञ्चालनका लागि आवश्यक पहल गरेमा आफूहरू सोहीअनुसार अघि बढ्न तयार रहेको बताए। यातायात सेवा सुचारु गर्नका लागि सरकारी निकायमार्फत आवश्यक पहल हुनुपर्ने उनको भनाइ छ।
















