२७ भदौ, वीरगञ्ज । जेन–जी आन्दोलनपश्चात् त्रसित बनेको वीरगञ्जमा अवस्था सामान्य बन्दै गएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बिहान–साँझ सीमित समय सर्वसाधारणलाई सहज आवतजावत गर्न दिने व्यवस्था मिलाएपछि बजार र सडकमा चहलपहल बढेको हो।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जारी गरिएको कर्फ्यु दैनिक बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म लागू हुनेछ। त्यसअघि बिहान ६ बजेदेखि १० बजेसम्म र अपरान्ह ५ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा जारी रहनेछ। यो निर्णय बिहीबार साँझदेखि लागू गरिएको हो।
बिहान र साँझको छुट्टाइएको समयमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु किनमेल गर्न सर्वसाधारण पसलमा भिडभाड देखिन्छ भने सडकमा पैदल यात्रु र निजी सवारीसाधनहरूको हुल पनि देखिन्छ। छोटो दुरीको सवारी साधन, रिक्सा, ईरिक्साहरु चलेका छन् । तर, यस अवधिमा पाँच जनाभन्दा बढी व्यक्तिहरू जम्मा हुन, सभा, जुलुस वा प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध रहने प्रशासनले स्पष्ट पारेको छ।
















