Logo

२७ भदौ, काठमाडौँ । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई सत्तामा टिक्न कूको षड्यन्त्र रचेको अभियोगमा त्यहाँको सर्वोच्च अदालतले दोषी ठहर गर्दै २७ वर्ष ३ महिनाको जेल सजाय सुनाएको छ ।

२०२२ को चुनावमा पराजित भएपछि बोल्सोनारोले लोकतान्त्रिक प्रक्रियामाथि आक्रमण गर्ने प्रयास गरेको भन्दै सर्वोच्च अदालतका पाँचमध्ये चार न्यायाधीशले उनलाई दोषी ठहर गरेका हुन्। यससँगै बोल्सोनारो देशको इतिहासमा लोकतन्त्र विरोधी गतिविधिमा संलग्न रहेर सजाय पाउने पहिलो पूर्व राष्ट्रपति बनेका छन् ।

अभियोजकहरूले उनको कृत्यलाई “लोकतन्त्रप्रतिको अहिलेसम्मकै गम्भीर अवज्ञा” का रूपमा व्याख्या गरेका छन् । अदालतले दिएको सजायसँगै बोल्सोनारोको राजनीतिक भविष्य पनि गम्भीर संकटमा परेको छ।

भाग्ने आशंकामा उनी पहिले नै घरमै नजरबन्दमा राखिएका थिए । अन्तिम सुनुवाइमा भने उनी अदालतमा उपस्थित भएका थिएनन् । बोल्सोनारोले यो प्रकरण आफूलाई २०२६ को राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्न नदिने षड्यन्त्र भएको दाबी गर्दै आएका छन् ।

अदालतको यो फैसलाले उनले खडा गरेको पपुलिस्ट आन्दोलनलाई ठूलो धक्का पुगेको विश्लेषकहरूले बताएका छन् ।


सम्बन्धित समाचार