२८ भदो, काठमाडौं । नेपाली सेनाले अहिलेको अवस्थामा विभिन्न मिडिया र सामाजिक सञ्जालमा सेनाबारे आएका भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
सेनाले एक विज्ञप्ति जारी गर्दै आधिकारिक जानकारीका लागि तोकिएका निकायहरूसँग मात्र समन्वय गर्न अनुरोध गरेको हो । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिकाटिप्पणी र विश्लेषणहरू भइरहेकोमा हामीले आफ्ना सबै धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका छौँ।
सेनाले आफ्ना सबै कामहरू पारदर्शी रूपमा गरिरहेकोले गलत र भ्रामक समाचारबाट टाढा रहन सबैलाई सचेत गराएको छ। यदि कसैलाई सेनासम्बन्धी कुनै जानकारी चाहिएमा जनसम्पर्क तथा सूचना निर्देशनालय वा स्थानीय स्तरमा रहेका पृतना हेडक्वार्टरहरूसँग सम्पर्क गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ।

















