Logo

२७ भदौ, काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा अर्को एउटा महत्वपूर्ण अध्याय थपिएको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति भएसँगै देशले पहिलो पटक एक महिलाको नेतृत्वमा सरकार पाएको छ।

शुक्रबार साँझ राष्ट्रपति कार्यालयमा भएको सहमतिपछि, केहीबेरमै कार्कीले आफ्नो पदको शपथ लिने कार्यक्रम तय भएको छ। यो सँगै, उनले देशको कार्यपालिकाको बागडोर सम्हाल्ने पहिलो महिला सरकार प्रमुख बनेर नयाँ कीर्तिमान कायम गरेकी छिन्।
यसअघि उनी नेपालको सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश बनेर पनि इतिहासको पानामा आफ्नो नाम लेखाउन सफल भएकी थिइन्।

न्यायपालिकामा रहँदा आफ्नो हक्की र इमान्दार स्वभावका लागि परिचित कार्की, प्रधानन्यायाधीशबाट अवकाश लिएको करिब आठ वर्षपछि फेरि राष्ट्रिय नेतृत्वमा फर्किएकी हुन्। यसपटकको उनको यो नेतृत्व ुजेनजीु आन्दोलनले निम्त्याएको राजनीतिक संकटपछि आएको छ।

सामाजिक सञ्जाल बन्दको विरोधमा भएको जेनजी आन्दोलनको दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। सोही परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको पहल गरेका थिए।
अब सुशीला कार्कीको नेतृत्वमा बन्ने यस अन्तरिम सरकारले क्षतिग्रस्त अवस्थामा रहेको मुलुकलाई स्थिर बनाउँदै आगामी निर्वाचनको तयारी गर्ने र निर्वाचित नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी पाएको छ।


सम्बन्धित समाचार