२९ भदौ, काठमाडौँ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको व्यक्तित्व अधिकारको रक्षा गर्दै दिल्ली उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। अदालतले अनुमति बिना कुनै पनि व्यक्तिको नाम, तस्वीर, आवाज वा अन्य व्यक्तिगत पहिचान प्रयोग गर्न नपाइने आदेश दिएको हो।
न्यायाधीश तेजस कारियाले सेप्टेम्बर ९ मा सुनुवाइ गर्दै जब कुनै प्रसिद्ध व्यक्तिको पहिचान बिना अनुमति प्रयोग गरिन्छ, त्यसले उनीहरूको आर्थिक हितसँगै प्रतिष्ठा र सम्मानमा गम्भीर असर पार्न सक्ने बताएका छन्।
अदालतको आदेश अनुसार अब कुनै पनि संस्था वा व्यक्तिले ऐश्वर्या राय बच्चनको नाम, संक्षिप्त नाम (एआरबी), तस्वीर, आवाज वा उनको व्यक्तित्वसँग सम्बन्धित कुनै पनि पक्ष प्रयोग गर्न पाउने छैन। यो प्रतिबन्ध परम्परागत वा नयाँ प्रविधि—जस्तै कृत्रिम बुद्धिमत्ता, जेनेरेटिभ एआई, डीपफेक वा फेस मोर्फिङ—सबै माध्यममा लागू हुनेछ।
यो आदेश ऐश्वर्याले दायर गरेको निवेदनका आधारमा आएको हो। उनले विभिन्न वेबसाइट र अनलाइन प्लेटफर्महरूले आफ्नो नाम, तस्वीर र आवाज दुरुपयोग गर्दै अश्लील सामग्री सिर्जना गरेको, ई–कमर्स प्लेटफर्ममा बिना अनुमति आफ्नो फोटो प्रयोग गरी उत्पादन बेचिएको तथा युट्युब च्यानल, एआई च्याटबोट वेबसाइटलगायतले आफ्नो छवि दुरुपयोग गरेको आरोप लगाएकी थिइन्।
अदालतले उनको उजुरीलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित सबै प्रतिवादीलाई एक महिनाभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ। यस मुद्दाको अर्को सुनुवाइ आगामी जनवरी १५, २०२६ का लागि तोकिएको छ।
साथै अदालतले गुगललाई ऐश्वर्यासँग सम्बन्धित विवादित यूआरएलहरू तुरुन्त हटाउन वा ब्लक गर्न आदेश दिएको छ। ती वेबसाइट तथा खाताका मालिकहरूको विवरण अदालतमा सिलबन्दी गरिएको खाममा बुझाउन पनि भनिएको छ।
यसअघि, ऐश्वर्याका पति तथा अभिनेता अभिषेक बच्चनको पक्षमा पनि दिल्ली उच्च अदालतले यस्तै आदेश जारी गर्दै उनको व्यक्तित्व अधिकारको संरक्षण गरेको थियो।

















