Logo

२९ भदौ, काठमाडौं । सरकारले देशभरि सुपथ मूल्य पसलहरू भोलीदेखि सञ्चालनमा ल्याउने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले यी पसलहरू सञ्चालन गर्नेछन्। हालैको जेन(जी आन्दोलनका कारण देशभरि भएका हिंसात्मक घटनाले उपभोक्तामा अन्योल सिर्जना भएको थियो, तर तोकिएकै मितिमा पसलहरू खुल्ने कम्पनीले जानकारी दिएको छ।

केमा कति छुट?

सुपथ मूल्य पसलमा नुन, चामल, तेललगायतका दैनिक उपभोग्य वस्तुमा छुट दिइनेछ। सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइनेछ। तोरी, सनफ्लावर, भटमास तेल, आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट हुनेछ। कर्णालीको सिमी, फापर र अन्य रैथाने उत्पादनमा प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनस् नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, र तेल, चिउरा, पिठो, मैदा तथा दालमा ७ रुपैयाँ छुट दिइनेछ । खाद्य कम्पनीले ४५ जिल्लाका १११ स्थानमा र साल्ट ट्रेडिङले ४० स्थानमा बिक्री केन्द्र स्थापना गर्ने तयारी गरेका छन् ।

खसीबोका र च्याङ्ग्रा बिक्रीमा अनिश्चितता

चाडपर्वमा उपभोक्ताले बढी प्रतीक्षा गर्ने खसीबोका र च्याङ्ग्राको कारोबार भने हाललाई अनिश्चित बनेको छ। खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार, जेन–जी आन्दोलनले सिर्जना गरेको विषम परिस्थिति र ढुवानीमा हुन सक्ने जोखिमका कारण खसीबोका र च्याङ्ग्रा ल्याउन समस्या भएको छ। यस विषयमा एकदुई दिनभित्र निर्णय गरिने र यदि बिक्री सम्भव नभएमा अनलाइन बुकिङ गरेका ग्राहकहरूको पैसा फिर्ता गरिने आचार्यले बताएका छन्। कम्पनीले यो वर्ष २,००० खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने लक्ष्य राखेको थियो।


सम्बन्धित समाचार
भर्खरै