२९ भदौ, जनकपुरधाम । जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले मधेस प्रदेश सभा सचिवालयमा करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
सभामुख रामचन्द्र मण्डलले घटनाको अवलोकनपछि यस्तो जानकारी दिएका हुन् । सभामुख मण्डलका अनुसार, प्रदर्शनकारीहरूले प्रदेश सभाभित्र रहेका सातवटै राजनीतिक दलका संसदीय दलका कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष र सभामुखको आफ्नै कार्यकक्ष लगायत सचिवालयका अधिकांश शाखामा क्षति पुर्याएका छन्।
आगजनी र तोडफोडमा सचिवालयको एक हायस गाडी जलाइएको छ भने सभामुखको निजी गाडीको सिसा पनि फुटाइएको छ। कार्यालयभित्र रहेका फर्निचर, कम्प्युटर, ल्यापटप, टेलिभिजन, पङ्खा लगायतका सामग्रीहरू पूर्ण रूपमा नष्ट वा लुटपाट भएका छन्।
सभामुख मण्डलले आफ्नो निवासमा समेत प्रदर्शनकारी प्रवेश गरी झन्डै तीन तोला सुनका गहना लुटेको बताएका छन्। यसैगरी, प्रदेश सभाको मिडिया सेन्टरबाट कम्प्युटर र टेलिभिजनसमेत चोरी भएको जनाइएको छ।
सभामुख मण्डलले आफू जनकपुरधाम बाहिर रहेको र फर्किएपछि दलका नेताहरूसँग छलफल गरेर सचिवालय सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बताएका छन्।















