३० भदौ, काठमाडौँ । भारतको असममा आइतबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का नेपालको पूर्वी भाग, उत्तर बंगाल र छिमेकी भुटानसम्म महसुस गरिएको छ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु आसामको उदलगुरी शहरमा रहेको थियो। भूकम्प जमिनमुनि ५ किलोमिटर गहिराइमा गएको जनाइएको छ।
गुवाहाटीमा भूकम्पको धक्का महसुस भएपछि त्रसित स्थानीयवासीहरू घरबाहिर निस्किएका थिए। यद्यपि, अहिलेसम्म मानवीय क्षति वा सम्पत्तिमा क्षतिको कुनै रिपोर्ट प्राप्त भएको छैन।
विशेषज्ञहरूका अनुसार उत्तरपूर्वी भारत उच्च भूकम्पीय क्षेत्रमा पर्ने भएकाले यस क्षेत्रमा बारम्बार भूकम्प आउने गर्छ।

















