Logo

१ असोज, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले शैक्षिक वर्षको क्यालेन्डर प्रभावित नहोस् भन्ने उद्देश्यले तत्काल अनलाइन पठनपाठन सुरु गर्ने निर्णय गरेको छ।

यसअघि ‘जेनजी’ आन्दोलनका कारण विद्यार्थीहरूको सुरक्षा र सहजतालाई प्राथमिकता दिँदै विश्वविद्यालयले छठपछि मात्र पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो। तर, नयाँ सरकार निर्माण भएसँगै परिस्थिति सामान्य भइसकेकाले अब भौतिक कक्षा सुरू नहुँदासम्म अनलाइन माध्यममार्फत पढाइ अघि बढाइने भएको हो।

विश्वविद्यालयका सोसिएट निर्देशक डा. दिनेश काफ्लेले दिएको जानकारीअनुसार दशैं र तिहारबीचको समयमा समेत अनलाइन कक्षा सञ्चालन हुनेछन्। छठ पर्वपछि भने पूर्वनिर्धारित तालिकाअनुसार भौतिक कक्षा सञ्चालन गरिनेछ।

यसका लागि विश्वविद्यालयले सम्पूर्ण स्कुलका डीनहरूलाई निर्देशन दिँदै आवश्यकता अनुसार अनलाइन कक्षा सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेको छ। स्कुलहरूले आफ्ना मातहतका विभागहरूसँग समन्वय गरी लचिलो ढंगले कक्षा सञ्चालन गर्नेछन्।

शिक्षण-पठनसँगै विश्वविद्यालयले पछिल्ला राजनीतिक घटनाक्रमका कारण विद्यार्थीमाझ परेको मनोवैज्ञानिक प्रभावलाई सम्बोधन गर्न मनोपरामर्श सेवाको समेत व्यवस्था गरेको छ। विद्यार्थीहरूले आफ्नो स्कुलको डीन कार्यालयमार्फत समय लिएर विश्वविद्यालयले तोकेका मनोवैज्ञानिकसँग इमेल वा फोनमार्फत सेवा लिन सक्नेछन्।

केयूको यो निर्णयले विद्यार्थीहरूको सिकाइ अवरोध नहुने र आगामी शैक्षिक तालिका सहज रूपमा अघि बढ्न मद्दत गर्ने विश्वास लिइएको छ।


सम्बन्धित समाचार