Logo

२ असोज,वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। भन्सार विभागले तोकेको लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व संकलन गर्दै वीरगञ्ज भन्सार कार्यालयले उल्लेखनीय प्रदर्शन गरेको हो।

भन्सार विभागले साउन र भदौ महिनाका लागि वीरगञ्ज कार्यालयलाई ४३ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। सो अवधिमा कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसके पनि विषम परिस्थितिमा पनि उच्च सङ्कलन गर्न सफल भएको छ।

कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा जेनजी समूहको आन्दोलनजस्ता अवरोधका बाबजुद राजस्व संकलन उत्साहजनक रहेको बताए। ‘साउन महिनामा १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गरिएको थियो,’ उनले भने, ‘भदौ महिनामा आन्दोलनका कारण केही दिन राजस्व सङ्कलन ठप्पजस्तै भए पनि कुल २० अर्ब १२ करोड राजस्व संकलन गर्न सफल भएका छौं।’

भदौ महिनाका केही महत्त्वपूर्ण दिनहरूमा उच्च मात्रामा राजस्व सङ्कलन भएको छ। भदौ १२ गते एकै दिनमा दुई अर्ब ३७ करोड रुपैयाँ संकलन भएको थियो भने भदौ १७ गते एक खर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरिएको थियो।

यसबाहेक, भदौ २८ गते एक अर्ब ७१ करोड, भदौ ३१ गते एक अर्ब ११ करोड, भदौ २६ गते ६ करोड र भदौ २७ गते ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। तर जेनजी समूहको प्रदर्शनका कारण भदौ २४ गते मात्र तीन करोड र भदौ २५ गते शून्य राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

यसरी विषम परिस्थितिमा पनि वीरगञ्ज भन्सार कार्यालयले राजस्व सङ्कलनमा उल्लेखनीय योगदान दिँदै आएको देखिन्छ।


सम्बन्धित समाचार