४ असोज, काठमाडौं । जेनजी आन्दोलनबाट उत्पन्न अस्थिर परिस्थितिका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य कम्पनी) ले यस वर्षको दसैंका लागि योजना गरेको खसीबोका र च्याङ्ग्रा बिक्री कार्यक्रम स्थगित गरेको छ।
कम्पनीको खरिद विभाग प्रमुख अनन्तराज न्यौपानेका अनुसार दसैंका लागि १५ सय खसीबोका र ३०० च्याङ्ग्रा खरिद गरी सहुलियत दरमा उपभोक्तालाई बिक्री गर्ने योजना बनाइएको थियो। तर, आन्दोलन र अन्य समस्याका कारण खरिद प्रक्रिया अघि बढाउन नसकिएको हो।
खाद्यले भदौ १७ देखि ३० गतेसम्म अनलाइन बुकिङ खुला गरे पनि त्यसकै बीचमा सरकारद्वारा सामाजिक सञ्जाल बन्द गरिएपछि बुकिङ सेवा ठप्प भएको थियो। “अनलाइन बुकिङ खुला गर्नेबित्तिकै फेसबुक, इन्स्टाग्राम, टिकटक बन्द भयो। बुस्ट गर्न पाइनँ,” न्यौपानेले बताए।
उनका अनुसार हालसम्म करिब ४० अर्डरमात्र आएको थियो। यसमा आन्दोलनको असरसँगै, अविरल वर्षा, बाढी, पहिरो र सडक अवरोधले पनि थप चुनौती सिर्जना गरेको छ। यस कारण स्थानीय तहसँग समन्वय र आपूर्ति प्रक्रिया सम्पन्न गर्न समय अभाव भएको बताए।
खाद्यले खसीबोका बुकिङका लागि प्रति गोटा ४ हजार रुपैयाँ र च्याङ्ग्राका लागि ५ हजार रुपैयाँ अग्रिम शुल्क लिएको थियो। अब यो अग्रिम शुल्क पूर्ण रूपमा फिर्ता गरिने खाद्यले जनाएको छ।
गत वर्ष दसैंमा खाद्यले १०५० वटा खसीबोका र ३०० च्याङ्ग्रा सुपथ मूल्यमा बिक्री गरेको थियो। खसीबोका प्रतिकिलो ६७० रुपैयाँमा मूल्य निर्धारण गरी १० रुपैयाँ छुटसहित ६६० रुपैयाँ मा बिक्री गरिएको थियो। च्याङ्ग्रा प्रतिकिलो १२२० रुपैयाँमा बिक्री गरिएको थियो।
दसैं–तिहारजस्ता चाडपर्वलाई लक्षित गरी खाद्य र साल्ट ट्रेडिङ कर्पोरेशनले देशभर सुपथ मूल्य पसल सञ्चालन गरिरहेका छन्। खाद्य कम्पनीले ४५ जिल्लाका १११ स्थानमा र साल्ट ट्रेडिङले ३८ स्थानमा पसल सञ्चालन गरेका छन्।
यसका लागि सरकारले चालु आर्थिक वर्षमा सुपथ मूल्य कार्यक्रम सञ्चालनका लागि ३ करोड ८६ लाख ९९ हजार रुपैयाँ विनियोजन गरेको छ। यसमध्ये खाद्यलाई २ करोड ५२ लाख, साल्ट ट्रेडिङलाई १ करोड ३४ लाख ९९ हजार छुट्याइएको हो। पसलमार्फत दुईदेखि १० रुपैयाँसम्म छुट दिइएको छ।















