४ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले हालैको जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको सत्तुंगलस्थित चौधरी ग्रुपको प्रमुख औद्योगिक इकाइ सीजी डिजिटल पार्कको अवलोकन गरेका छन्।
आन्दोलनकारीको तोडफोड र आगजनीका कारण खरानीमा परिणत भएको उक्त संरचना चौधरी ग्रुपका लागि आर्थिक रूपमा महत्वपूर्ण रहेको बताइएको छ।
अवलोकनका क्रममा मन्त्री खनालले निजी क्षेत्रले आन्दोलनबाट अरबौँ रुपैयाँ बराबरको क्षति बेहोरेको स्वीकार्दै सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता जनाए। उनले भने, “हालैको विनाशबाट माथि उठ्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता हो। निजी क्षेत्रको सक्रियता र लगानी विना यो सम्भव छैन। सरकार निजी क्षेत्रलाई सहयोग गर्न तयार छ।”
जेनजी आन्दोलनका क्रममा चौधरी ग्रुपका विभिन्न व्यावसायिक प्रतिष्ठान, उद्योग र निजी निवासहरूमा व्यापक तोडफोड र आगजनी भएका थिए। तीमध्ये सत्तुंगलस्थित सीजी डिजिटल पार्क सबैभन्दा बढी प्रभावित स्थल हो।
यो डिजिटल पार्कबाट सीजी ब्रान्डका विद्युतीय सामग्री एसेम्बल गरी बजारमा पठाइने गरिन्थ्यो। यसैगरी, एलजीसहितका अन्तर्राष्ट्रिय ब्रान्डका उपकरणहरू पनि यही पार्कमा उत्पादन हुँदै आएका थिए।
आगजनीका कारण संरचना पूर्ण रूपमा ध्वस्त भएता पनि चौधरी ग्रुपले विद्युतीय सामग्री आपूर्ति श्रृंखलामा कुनै अवरुद्ध नआओस भनेर काम जारी राख्ने जनाएको छ।
साथै, चौधरी ग्रुपका अध्यक्ष बरालले सत्तुंगलस्थित पार्कको दक्षिणतर्फको भाग भने काम लाग्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको जानकारी दिए।
मन्त्री खनालको यस भ्रमणलाई निजी क्षेत्रको मनोबल उच्च राख्न गरिएको प्रयासको रूपमा व्याख्या गरिएको छ।

















