४ असोज,वीरगञ्ज । मधेश प्रदेशसभाको बैठक यही असोज ७ गते (मंगलबार) बस्ने निर्णय भएको छ। सभामुख रामचन्द्र मण्डलको डाकमा बसेको सर्वदलीय बैठकले संघीयता र लोकतान्त्रिक प्रक्रिया जोगाउन सबै दलहरू एकसाथ अगाडि बढ्नुपर्ने निष्कर्ष निकाल्दै प्रदेशसभा बैठक आह्वान गर्ने निर्णय गरेको हो।
शनिबार सभामुखको कार्यकक्षमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल, लोसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता तथा प्रतिनिधिको सहभागिता थियो।
प्रदेशसभाको बैठक साउनयता स्थगित थियो। विपक्षी दलहरूले मधेश प्रदेशका अर्थमन्त्रीको राजीनामाको माग गर्दै बैठक अवरुद्ध गरेपछि अनिश्चितकालसम्मका लागि बैठक स्थगन गरिएको थियो। तर, हालैको जेन–जी आन्दोलनपछि संघीयतामाथि उठेका प्रश्नहरू र देशभर फैलिएको सन्त्रासको प्रतिउत्तरस्वरूप सबै दलहरू एकताबद्ध भएर बैठक बोलाइएको सभामुख मण्डलले जानकारी दिए।
नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णकुमार यादवले संघीयता बचाउन र मधेश प्रदेशका जनतालाई सकारात्मक सन्देश दिनका लागि सबै दल एक ठाउँमा उभिनु आवश्यक रहेको बताए।
जेन–जी आन्दोलनको क्रममा मधेश प्रदेशसभाको भवनमा समेत आगजनी गरी क्षति पुर्याइएको थियो। अहिले तीव्र रूपमा पुनर्निर्माण तथा मर्मतको काम भइरहेको र बैठकका लागि आवश्यक पूर्वाधार निर्माणमा तीव्रता दिइएको सचिवालयले जनाएको छ।

















