Logo

५ असोज,वीरगञ्ज । भारतको बिहार राज्यअन्तर्गत पर्ने मोतिहारी जिल्लाको घोडासहनमा शनिबार राति एक संयुक्त कारबाहीका क्रममा पाँच जना विदेशी नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा चार जना सुडानी र एक जना बोलिभियाली नागरिक छन्। उनीहरूलाई नेपालको सीमा पार गरी भारत प्रवेश गरेको आशंका गरिएको छ।

भारतको ७१औं बटालियन एसएसबी (सीमा सुरक्षा बल) र मोतिहारी जिल्ला प्रहरीको संयुक्त टोलीले यो कारबाही गरेको हो। प्रहरीका अनुसार शनिबार राति करिब ९ बजे अगर्वा गाउँबाट पाँच विदेशी नागरिक निस्केको सूचना प्राप्त भएपछि छापा मारिएको थियो। उनीहरू पटना जाने तयारीमा थिए र जय माता दी नामक बसको टिकट पनि काटिसकेका थिए।

छापा मार्ने क्रममा चार जना विदेशीलाई बसपार्कबाट नियन्त्रणमा लिइएको थियो। पाँचौं व्यक्ति भने पछि आफैं प्रहरी चौकीमा उपस्थित भएका थिए। पक्राउ पर्नेमा सुडानका अब्दुल फितह (४४), रमा सिद्दीकी (३८), अली अब्दुल गफ्फार (२७), अहमद डफआला (३७) र बोलिभियाका मिगुएल सोलानो चावेज (३२) रहेका छन्।

उनीहरूको साथबाट उर्दूमा लेखिएका केही नोट, पुस्तक र कागजातहरू बरामद भएको प्रहरीले जनाएको छ। प्रारम्भिक सोधपुछमा सुडानी नागरिकहरूले आफूहरू हैदरावादमा पढ्ने विद्यार्थी भएको दाबी गरे पनि नेपालबाट भारत प्रवेश गरेको बारेमा स्पष्ट जवाफ दिन नसकेको बताइएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अनुसन्धानलाई थप तीव्र बनाइएको छ र इन्टेलिजेन्स ब्युरोलाई समेत जानकारी गराइएको छ।

मोतिहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातका अनुसार पक्राउ परेका सबैलाई घोडासहन प्रहरी थानाको नियन्त्रणमा राखी थप अनुसन्धान जारी छ।


सम्बन्धित समाचार