Logo

५ असोज, काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणपछि इजरायलबाट बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा विपिनकी आमा पद्मा र बहिनी पुष्पाले प्रधानमन्त्रीसँग विपिनको शीघ्र रिहाइका लागि आवश्यक कूटनीतिक पहल गरिदिन आग्रह गरे। उनीहरूले आफ्नो छोरा निर्दोष रहेको भन्दै यथाशीघ्र फिर्ता बोलाउन सहयोग गर्न अनुरोध गरेका थिए।

जवाफमा प्रधानमन्त्री कार्कीले विपिनको रिहाइका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन् । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हमाससँग नजिक रहेका राष्ट्रहरूसँग समन्वय गरेर विपिनको रिहाइका लागि हरसम्भव प्रयास गर्ने वचन दिएको बताइन् ।

विपिन ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए र हमासको आक्रमणपछि उनी बेपत्ता भएका थिए । परिवारले प्रधानमन्त्रीको पहलपछि विपिन घर फर्किनेमा आशा व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै