५ असोज,काठमाडौं । जेन–जी आन्दोलन ‘हाइज्याक’ भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको भनी सामाजिक सञ्जालमा फैलिएको दाबीलाई स्वयं घाइतेहरूले असत्य ठहर गरेका छन्।
सिंहदरबार पुगेका घाइते नेता गोकर्ण विष्टका अनुसार उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको नभई, शारीरिक अवस्थालाई ध्यानमा राख्दै बाहिर निस्कन सहयोग मात्रै गरिएको हो।
“हामीलाई नियन्त्रणमा लिइएको होइन। प्रधानमन्त्रीलाई भेटेर फर्किँदै गर्दा हिँड्न असहज भएकाले प्रहरीले भ्यानमा चढाएर गेटसम्म पु¥याइदिएको हो,” विष्टले बताएका छन्।
उनका अनुसार आन्दोलनको मूल भावना र मागबारे जानकारी गराउन उनीहरू आइतबार सिंहदरबार गएका थिए। प्रधानमन्त्री कार्कीलाई भेटेपछि उनीहरू प्रहरीले उपलब्ध गराएको सवारीमार्फत बाहिरिएका थिए।
प्रहरी भ्यानमा देखिएको तस्बिर सार्वजनिक भएपछि ‘घाइतेहरू पक्राउ परे’ भन्ने हल्ला चलेको थियो। तर घाइते पक्षले उक्त दाबी खारेज गर्दै आफूहरूलाई सहजताका लागि मात्र सहयोग गरिएको प्रष्ट पारेका छन्।
जेन–जी आन्दोलनमा गम्भीर घाइते भएका केही युवाहरू हालपनि उपचाररत छन्। उनीहरूले आन्दोलनको नेतृत्व राजनीतिक स्वार्थमा उपयोग हुन थालेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।















