७ असोज,वीरगञ्ज । जेनजी आन्दोलनपछिको पहिलो मधेस प्रदेश सभा बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको भए पनि तोकिएको समयसम्म बैठक सुरु हुन सकेको छैन। लामो समयपछि बस्न लागेको प्रदेश सभाको यो बैठक राजनीतिक रूपमा विशेष महत्वको मानिएको छ।
सभामुख रामचन्द्र मण्डलका अनुसार आजको बैठक दुई मुख्य कार्यसूचिमा केन्द्रित हुनेछ। पहिलो कार्यसूची जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलीस्वरूप शोक प्रस्ताव पारित गर्नु हो भने दोस्रो कार्यसूची अधिवेशन सुरु भएको अवसरमा शुभकामना मन्तव्य प्रस्तुत गर्नु हो।
“दुवै विषयमा दलका नेताहरूलाई मन्तव्य राख्ने समय दिइनेछ,” सभामुख मण्डलले जानकारी दिए। उनका अनुसार आजको बैठक कार्यसूची सीमित छ भने अन्य प्रस्तावहरू आगामी बैठकमा प्रस्तुत गरिनेछ।
प्रदेश सभा सचिवालयले पनि आजको बैठकलाई प्रतीकात्मक र औपचारिक प्रकृतिको रहेको बताउँदै आगामी दिनमा विधेयक र नीतिगत छलफलहरूलाई प्राथमिकता दिने जनाएको छ।
जेनजी आन्दोलनका क्रममा मधेसमा उत्पन्न अस्थिरता, हिंसा र जनधनको क्षति पश्चात बस्न लागेको प्रदेश सभा बैठकप्रति आम चासो बढेको छ। यस बैठकमार्फत राजनीतिक दलहरूले शान्ति, स्थायित्व र संवेदनशील मुद्दाहरूमा सहमति निर्माणको संकेत दिने अपेक्षा गरिएको छ।















