Logo

११ असोज, काठमाडौं । कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानका कारागारबाट भागेका कैदीबन्दीलाई आगामी असोज २० गतेभित्र अनिवार्य रूपमा कारागार फर्कन आग्रह गरेको छ।

विभागले गृह मन्त्रालय, सुरक्षा निकाय तथा सरोकारवाला पक्षहरूको साथ र समन्वयमा फरार कैदीबन्दीलाई फिर्ता ल्याउने कार्य भइरहेको जनाएको छ। यस क्रममा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिएको विभागका निर्देशक तथा प्रवक्ता चोमेन्द्र न्यौपानेले जानकारी दिए।

उनका अनुसार अझै पनि उल्लेख्य सङ्ख्यामा कैदीबन्दी कारागार बाहिरै रहेका छन्। तोकिएको समयसीमा भित्र नफर्कने बन्दीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ।

गृहमन्त्रीस्तरीय निर्णयअनुसार विभागले भागेका कैदीबन्दीसम्बन्धी जानकारी उपलब्ध गराउन सम्बन्धित निकाय, व्यक्ति तथा सर्वसाधारणलाई आग्रह गरेको छ। फरार अवस्थामा रहेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कानुन बमोजिम कारबाही गरिने भएकाले आवश्यक सहयोगका लागि विभागले अनुरोध गरेको छ।

विभागले जिल्लास्तरबाट फर्किन बाँकी रहेका कैदीबन्दीको अद्यावधिक विवरण नियमित रूपमा संकलन गरी सम्बन्धित माथिल्लो निकायमा पठाउनुपर्ने व्यवस्था गरेको छ। साथै, फरार कैदीबन्दीको खोजीका लागि जिल्लाका जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग बैठक, छलफल र अन्तरसमन्वय कायम गर्ने कार्यादेश जारी गरिएको छ।

सार्वजनिक सेवा प्रवाह गर्ने निकायलाई समेत फर्किन बाँकी कैदीबन्दीको विवरण उपलब्ध गराई खोजी कार्यलाई प्रभावकारी बनाउन लागिएको विभागले जनाएको छ। साथै, भागेका कैदीबन्दीसम्बन्धी सूचना वा जानकारी उपलब्ध गराउन सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यम प्रयोग गरी कार्यदल वा सुरक्षा निकायका सम्पर्क नम्बर सार्वजनिक गर्ने तयारी भइरहेको पनि जानकारी दिइएको छ।


सम्बन्धित समाचार
भर्खरै