११ असोज, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लट्रीको आवेदन फारम भर्दा अब एक डलर शुल्क तिर्नुपर्ने भएको छ। पहिले आवेदन फारम भर्दा शुल्क नलाग्ने व्यवस्था थियो, तर अमेरिकी विदेश मन्त्रालयको निर्णय अनुसार अब फारमसँगै अनिवार्य शुल्क तिर्नुपर्ने भएको हो।
अमेरिकाको फेडरल रजिष्टरले जारी गरेको सूचनामा भनिएको छ कि धोका–धडी कम गर्ने र प्रशासनिक खर्च सबै आवेदकमा समान रूपमा वितरण गर्ने उद्देश्यले यो नयाँ शुल्क प्रणाली लागु गरिएको हो।
नयाँ नियम सन् २०२७ को डिभी लट्री कार्यक्रमदेखि लागु हुनेछ, जसको आवेदन प्रक्रिया सन् २०२५ को अक्टोबरमा सुरु हुनेछ।
डिभी फारम भर्दा पासपोर्ट अनिवार्य राख्ने नियम यथावत राखिएको छ। साथै, डिभी छनोट भएपछि भिसा शुल्कको रुपमा तिर्नुपर्ने ३३० अमेरिकी डलर पनि कायम रहनेछ।
आवेदन शुल्क तिर्ने तरिका
अमेरिकी विदेश मन्त्रालयले छिट्टै डिभी लट्री शुल्क तिर्ने प्रक्रिया, भुक्तानीका माध्यमहरू र यो नियम लागू हुने देशहरूको विस्तृत सूची सार्वजनिक गर्ने जनाएको छ। आवेदन फारम अनलाइन भर्दा नै शुल्क तिर्ने अप्सन आउनेछ र शुल्क तिरेपछि मात्र फारम सबमिट गर्न सकिनेछ।
भुक्तानीका लागि अन्तर्राष्ट्रिय रूपमा प्रचलित भिसा, मास्टरकार्ड, पेपल, अमेरिकन एक्सप्रेस जस्ता कार्डहरू प्रयोग गर्न सकिन्छ। नेपालमा भिसा र मास्टरकार्ड सबैभन्दा भरपर्दा र सुरक्षित मानिन्छन्। तर कार्डबाट भुक्तानी गर्दा रकम सीमा र शुल्कका बारेमा बैंकसँग पहिल्यै जानकारी लिन सुझाव दिइएको छ।

















