Logo

१२ असोज, काठमाडौं । नौ दिनसम्म विशेष पूजा–आराधनासहित मनाइने नवरात्र महोत्सवको छैटौँ दिन आज नवदुर्गामध्येकी कात्यायनी देवीको आराधना गरिँदैछ। आश्विन शुक्ल पक्षको षष्ठी तिथिमा प्रत्येक वर्ष कात्यायनीको विशेष पूजा गर्ने परम्परा रहिआएको छ।

धार्मिक विश्वासअनुसार, ऋषि कात्यायनको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिनुभएको थियो। त्यसैअनुसार महिषासुर नामक दैत्यको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजांशबाट उत्पन्न भएकी देवी नै कात्यायनी हुन्। ऋषि कात्यायनद्वारा पूजित भएकै कारण उनी ‘कात्यायनी’ नामले प्रसिद्ध भएकी मानिन्छन्।

धार्मिक ग्रन्थ ‘दुर्गा सप्तशती’मा उल्लेख भएअनुसार सिंहवाहिनी कात्यायनीले महिषासुर नामक असुरको वध गरेकी थिइन्। उनी चार हात भएकी देवी हुन्। दाहिने दुई हातमध्ये एक हातमा तरवार र अर्को हातमा कमलपुष्प धारण गरेकी छिन् भने बाँकी दुई हातले अभय र वरद मुद्रा प्रदान गरिरहेकी हुन्छिन्। भक्तजनहरूले उनीप्रति आराधना गर्दा सम्पूर्ण संकटको नाश हुने र मनोकामना पूरा हुने विश्वास गरिएको छ।

नवरात्र पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीसहित नवदुर्गाका विभिन्न स्वरूपहरूको पूजा गर्ने परम्परा रहिआएको छ। घटस्थापनासँगै राखिएको जमरा र शक्तिपीठहरूमा भक्तजनको घुइँचो लाग्ने गरेको छ। यस अवधिमा विशेष गरी देवीभागवत महापुराण तथा दुर्गा सप्तशतीको चण्डी पाठ गरिन्छ।

नवरात्रको धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्वलाई आत्मसात् गर्दै आज देशभरका दशैँघर, मठ–मन्दिर र शक्तिपीठहरूमा कात्यायनी देवीको विशेष पूजा सम्पन्न गरिँदैछ।


सम्बन्धित समाचार
भर्खरै