Logo

२९ फागुन, काठमाडौं ।नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। पौडेलको शपथग्रहण शीतल निवासमै हुनेछ।

उनलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन्। शपथपछि पौडेल पाँच वर्षका लागि शीतल निवासमा बस्नेछन् । राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेलले सोमबार नेपाली कांग्रेसबाट अलग भएका थिए। उनले पार्टीसँगको संलग्नता त्याग गरेका हुन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् । चुनावमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।

पौडेलले कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकोले पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका हुन्। राष्ट्रपतिमा निर्वाचित व्यक्ति पार्टी सदस्य रहन नहुने व्यवस्था छ।

पौडेल गत मंसिर ४ को चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति भएपछि यो क्षेत्रमा प्रतिनिधि सभा सदस्य पनि रिक्त भएको छ। यहाँ छ महिनाभित्र उपचुनाव हुनेछ।

 


सम्बन्धित समाचार