Logo

१३ असोज, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विजया दशमीको अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

दशैंको शुभकामना सन्देशमार्फत अध्यक्ष प्रचण्डले पार्टीभित्र संगठनात्मक शुद्धीकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन्। उनले विशेषगरी जेन-जी (Gen Z) अर्थात् नयाँ पुस्ताको माग र आकांक्षालाई आत्मसात् गर्दै पार्टी अगाडि बढिरहेको उल्लेख गरे।

हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा गरिएको गम्भीर समीक्षाको आधारमा आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरिएको प्रचण्डले स्पष्ट पारे। उक्त महाधिवेशनमार्फत नयाँ पुस्ता, विशेषतः जेन-जीको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

अध्यक्ष प्रचण्डले जनयुद्धदेखि संविधान निर्माणसम्मको प्रक्रियामा माओवादी केन्द्रले निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै अहिलेको राजनीतिक परिस्थिति अझै जटिल रहेको बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारीजस्ता संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका विषयहरू पुनः चर्चाको केन्द्रमा आएको उल्लेख गर्दै ती विषयलाई समाधानतर्फ लैजान माओवादी केन्द्र प्रतिबद्ध रहेको धारणा राखे।

दशैं जस्ता सांस्कृतिक अन्तर्घुलनका पर्वहरूले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणतर्फ प्रेरणा दिने विश्वास व्यक्त गर्दै प्रचण्डले यी पर्वहरूलाई सामाजिक एकता र परिवर्तनको सन्देशका रूपमा मनाउन सम्पूर्ण नेपाली जनतालाई आह्वान गरे।


सम्बन्धित समाचार