Logo

१३ असोज,वीरगञ्ज । दशैंको अवसरमा वीरगञ्जको लिंक रोड क्षेत्रमा खुलेआम जुवा सञ्चालन भइरहेको पाइएको छ। बसपार्कदेखि घण्टाघर जाने बाटोको बीचमा कम्तीमा ४ देखि ५ स्थानमा जुवा खेलिरहेका मानिसहरूको ठूलो भीड लाग्ने गरेको देखिएको छ।

स्थानीय स्रोतका अनुसार, जुवाडेहरूले “दोबर दिने” भन्दै सर्वसाधारणलाई लोभ देखाई आकर्षित गरिरहेका छन्। दशैं जस्ता पर्वको फाइदा उठाउँदै, जुवा सञ्चालन गर्ने ठेकेदारहरूले सबै गतिविधि व्यवस्थापन गरिरहेको जनाइएको छ।

जुवा खेलाउने समूहले नयाँ मानिसहरूलाई “एक हजार राख दुई हजार जित” जस्ता नाराले आकर्षित गरिरहेको स्थानीयवासीले बताएका छन्। यसरी गैरकानुनी गतिविधि खुलेआम भइरहँदा पनि सुरक्षा निकायहरू मौन बसेको र कुनै कारबाही नभएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

एक स्थानीयले गुनासो गर्दै भने, “हामीले प्रहरीलाई जानकारी दिएका छौं, तर अहिलेसम्म कुनै कदम उठाएको देखिएन।”

दशैंको मौकामा यस्ता गैरकानुनी गतिविधिले समाजमा चोरी, अपराध, र घरेलु हिंसाजस्ता घटना बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।


सम्बन्धित समाचार