Logo

१४ असोज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ। यसबारे औपचारिक सर्कुलर मातहतका सबै कमिटीहरूमा पठाइएको पार्टी स्रोतले जनाएको छ।

पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सारेको छ। यससँगै पूर्ण समानुपातिक निर्वाचन प्रणाली तथा दलहरूको सिफारिसमा विज्ञहरू सहभागी हुने गरी मन्त्रीपरिषद् गठन गर्ने व्यवस्था कायम गर्नुपर्ने माग पनि सर्कुलरमार्फत प्रस्ट पारेको छ।

असोज ९ र १० गते राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठकका आधारमा सर्कुलर जारी गरिएको हो। महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षरमा पठाइएको सर्कुलरमा तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा माओवादी केन्द्रले जोड दिएको छ।

बैठकले आगामी २०८२ साल मङ्सिरको अन्तिम हप्तासम्म विशेष महाधिवेशन आयोजना गर्ने निर्णयसमेत गरेको छ। यसका लागि केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ भने संयोजकमा अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ चयन भएका छन्। बहुपदको व्यवस्था स्थगन गरी संयोजकको नेतृत्वमा सचिवालय गठन गर्ने निर्णयसमेत गरिएको सर्कुलरमा उल्लेख छ।

बैठकले समाजवादी मोर्चामा रहेका दलहरूसँग अविलम्ब पार्टी एकताको पहल गर्ने निष्कर्ष निकालेको छ। यदि पार्टी एकताको प्रक्रिया सफल भए विशेष महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा आयोजना गरिने सर्कुलरमा स्पष्ट गरिएको छ।

संगठनात्मक सुधार र आन्तरिक शुद्धीकरणलाई प्राथमिकतामा राख्दै माओवादी केन्द्रले विभिन्न ठोस कदम चाल्ने योजना सार्वजनिक गरेको छ। यस अन्तर्गत नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने, जीवनशैली र निजी सचिवालयसम्बन्धी मापदण्ड कार्यान्वयन गर्ने, प्रविधिमैत्री कार्यालय तथा समितिको विकास गर्ने र हरेक तहका समितिमा एक तिहाइ युवाको अनिवार्य अभ्यास गर्ने व्यवस्था लागू गर्ने उल्लेख छ।

पार्टीले आफ्नो रणनीतिलाई चुनावमुखी मात्र नभई दीर्घकालीन संगठनात्मक रूपान्तरणतर्फ केन्द्रित गरिएको दाबी गरेको छ। आगामी निर्वाचनलाई संगठन सुदृढीकरण, विचार राजनीतिको स्पष्टता र पार्टी एकताका सम्भावना परीक्षण गर्ने अवसरका रूपमा प्रयोग गर्ने तयारी भइरहेको माओवादी केन्द्रले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै