Logo

१४ असोज,वीरगञ्ज ।जेन–जी आन्दोलनपछिको बदलिएको राजनीतिक परिस्थितिमा मधेश केन्द्रित दलहरू फेरि एकताको दिशातर्फ उन्मुख भएका छन्। संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरूले ‘अलग–अलग रहेर मधेशको हित सम्भव छैन’ भन्ने निष्कर्ष निकाल्दै एकताको गृहकार्य थालेका छन्।

संघीय लोकतान्त्रिक मोर्चाले हालै बसेको बैठकमा सबै दलबीच एकता आवश्यक रहेको भन्दै प्रस्तावसमेत अघि सारेको स्रोतले जनाएको छ। मोर्चामा आवद्ध दलहरूबीच एकता सम्बन्धी संवाद र परामर्श औपचारिक रूपमा सुरु भइसकेको छ।

२०७४ सालको आम निर्वाचनअघि विभिन्न मधेशवादी दलहरू एकीकृत भएर जनता समाजवादी पार्टी नेपाल गठन गरेका थिए। तर, त्यसयता ती दलहरू पटक–पटक विभाजित हुँदै पुनः टुक्रिएका थिए। अब भने आन्दोलनपछिको जनचेतना र राजनीतिक दबाबका कारण एकताको आवश्यकतालाई सबै नेताहरूले महसुस गर्न थालेका छन्।

संघीय लोकतान्त्रिक मोर्चामा अहिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी आवद्ध छन्।

मोर्चा निकट एक नेताका अनुसार, “मधेशका जनताको अधिकार सुनिश्चित गर्न र आन्दोलनको बलिदानलाई सार्थक बनाउने हो भने अब विगतका गुनासालाई थाँती राखेर एकताको बाटो रोज्नुको विकल्प छैन।”

राजनीतिक विश्लेषकहरू पनि मधेश केन्द्रित दलहरूको एकता अहिलेको राजनीतिक परिवेशमा निर्णायक बन्न सक्ने ठान्छन्। उनीहरूका अनुसार, बिखण्डित मधेशवादी आन्दोलनले जनअपेक्षा पुरा गर्न नसक्दा अब संयुक्त धार निर्माण गर्नु अनिवार्य भएको हो।

अब मोर्चाभित्र प्रस्तावित एकता कहिले र कसरी औपचारिक रूप लिन्छ भन्ने प्रश्न भने खुलै छ। यद्यपि, दलहरूबीच चिसिएको सम्बन्ध पग्लिएको र छलफल सकारात्मक दिशामा अघि बढिरहेको संकेत देखिएको छ।


सम्बन्धित समाचार